Goalnepal Foundation खोटाङकी महिला फुटबल खेलाडी रविकाको उपचारका लागि करिब ७ लाख हस्तान्तरण
रमेश समदर्शी

खोटाङ । अस्पतालमा उपचाररत खोटाङकी फुटबल खेलाडीको लागि करिब ७ लाख आर्थिक सहयोग सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम बोहेम्माकी फुटबल खेलाडी रविका राईको उपचारका लागि ६ लाख ९६ हजार सङ्कलन गरिएको हो ।

देब्रे खुट्टाको घुँडाको नसा च्यापिएका कारण बिएण्डबी अस्पताल ललितपुरमा उपचाररत रविकाको सहयोगार्थ शुभेच्छुक तथा सहयोगीबाट ६ लाख ९६ हजार ४५३ रुपैयाँ जुटाइएको हो । फुटबल खेलाडी रबिकाको साउन ६ गते घुँडाको सफल अपरेसन गरिएको छ ।

आफन्त, शुभेच्छुक तथा खेलप्रेमी गरी २५४ जनाबाट सङ्कलन भएको सहयोग रकम ‘रविका राई उपचार सहयोग समिति’का संयोजक नवीन राईले अस्पतालमै पुगेर रविका र उनकी आमा कल्पना राईलाई हस्तान्तरण गरेका हुन् ।

अस्पतालले रविकाको अप्रेसन गर्न करिब चार लाख खर्च लाग्ने बताएपछि असार २६ गते दुर्छिमकै नवीन राईको संयोजकत्वमा ‘रविका राई उपचार सहयोग समिति’ गठन गरिएको थियो । उपचार मात्र नभएर फलोअपका लागि पुग्ने रकम समेत सङ्कलन भएको समितिले जनाएको छ ।

खोटाङबाट प्रदेशस्तरीय फुटबल खेलमा सहभागिता जनाइसकेकी रविकाले चोटका कारण वर्ष दिनदेखि फुटबल खेल्न पाएकी छैनन् । चोटका कारण क्रमशः हिँडडुल गर्न असहज हुन थालेपछि र खुट्टा सुक्न थालेपछि एमआरआई गरेर हेर्दा घुँडाको नसा चुँडिएको र लिगामेन्ट च्यातिएको पुष्टि भएको थियो ।

कक्षा १२ उत्तीर्ण रेविका वर्ष दिनअघि काठमाडौँमा फुटसल खेल्ने क्रममा घाइते भएकी थिइन् । चोट निको भए पनि पुनः गाउँमा फुटबल खेल्ने क्रममा चोट बल्झिएको थियो । चोट बल्झिएकैबेला चार महिनाअघि लड्नपुग्दा थप चोट लागेको रविकाको भनाइ छ ।

Post Comments