News अन्तिम मिनटको गोलले निराश बन्यो नेपाल
गोलनेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपतर्फ नेपालले आफ्नो दोस्रो खेलमा आयोजक बंगलादेशससँग स्तब्धपुर्ण हार बेहोरेको छ ।

खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै नेपालले खेलमा पूनःरागमन गरे तापनि अन्तिम समयतिर निराश बन्न पुग्यो । बंगलादेशका लागि १४औं मिनटमा सिन्हा जहाँ शिखाले पहिलो गोल गरेकी थिईन् । ३७औं मिनटमा सगोरिकाले त्यो अग्रता दोब्बर पारिन् । पहिलो हाफसम्म बंगलादेशले सोही अग्रता कायम पनि राख्यो ।

तर, दोस्रो हाफको केही मिनट लगतै दुवै टोली दश खेलाडीमा खुम्चिन पुग्यो । ५७औं मिनटतिर हातपातमा उत्रिएपछि रेफ्रीले बंगलादेशकी सगोरिका र नेपालकी सिमरन राईलाई रातो कार्ड दिएका थिए । त्यसपश्चातको खेल थप रोमाञ्चक बन्यो । ७८औं मिनटमा नेपालका लागि अनिशा राईले पेनाल्टीमार्फत पहिलो गोल गरिन् । ८७औं मिनटमा मिना देउबाले दोस्रो गोल गर्दै खेल २–२ को स्थितिमा ल्याएकी थिईन् ।

तर, खेलको इन्जुरी समयमा नेपाली खेलाडीहरुले बक्सभित्र तालमेल मिलाउन नसक्दा तेस्रो गोल खान पुग्यो । बक्स भित्रै रहेकी श्री मोती तृष्णा रानीले बंगलादेशका लागि तेस्रो तथा निर्णायक गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक जित दिलाएकी थिईन् ।

नेपालले आफ्नो आगामी खेल १५ जुलाई मंगलबारका दिन श्रीलंकासँग खेल्नेछ भने सोही दिन बंगलादेशले भुटानको सामना गर्नेछ । स्मरण रहोस, आइतबार नै भएको पहिलो खेलमा भुटानले श्रीलंकामाथि ५–० ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो ।

Post Comments