News यु–१९ कपः मुकुलुङ र चुलाचुली सेमिफाइनलमा
गोलनेपाल

दमक । मुकुलुङ युथ क्लब र चुलाचुली स्र्पोटिङ क्लब यहाँ जारी प्रथम यु–१९ युथ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोलीहरु बनेका छन् ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ मुकुलुङले आयोजक योङ ब्लड क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मुकुलुङको जितमा दिपेश लिम्बुले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता लिम्बु नै खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै आइतबार नै सम्पन्न चौथो क्वाटरफाइनलमा चुलाचुलीले फुङनाम युथ क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनायो । चुलाचुलीका लागि दुवै गोल सन्दिप मगरले गरे । टोलीको जितमा निर्णायक बनेका चुलाचुलीका सन्दिप मगर नै म्यान अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत असार ३० गते सोमबार हुने पहिलो सेमिफाइनल खेलमा मुकुलुङ युथ क्लब र सिर्जनशील युवा क्लब भिड्ने छन् भने सोमबार नै हुने दोस्रो सेमिफाइनलमा चुलाचुली स्र्पोटिङ क्लब र बेलबारी फुटबल क्लब भिड्ने आयोजकले जानकारी दियो ।

यही असार ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments