नेपालगञ्ज । ‘Talent wins game, but teamwork wins championships’ भन्ने नारासहित पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता आगामी भदौ २० र २१ गते हुने भएको छ ।
एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँके जिल्ला समितिको आयोजनामा हुने प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल मैदानमा हुने भएको हो ।
प्रतियोगितामा यसपटक पुरुष, महिला र भेट्रान गरी तीन श्रेणीमा प्रतिस्पर्धा हुनेछ । आयोजक समितिका अनुसार प्रतियोगितामा २० भन्दा बढी टोलीको सहभागिता रहने अनुमान गरिएको छ । करिब २०० भन्दा बढी चार्टर्ड एकाउन्टेन्ट खेलाडी मैदानमा उत्रनेछन् भने करिब १००० भन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
‘चार्टर्ड एकाउन्टेन्टहरू केवल अंकगणितमा मात्र होइन, खेलमैदानमा पनि समान रूपमा दक्ष छन्’ भन्ने सन्देश फैलाउँदै पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता यसपटक नेपालगञ्जमा आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिता केवल खेलकुद मात्र नभई पेशागत सम्बन्ध, सहकार्य र मित्रता सुदृढ गर्ने अवसरका रूपमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् भने महिला विजेताले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, पुरुष उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ र पुरुषतर्फ तेस्रो स्थान हात पार्ने टिमले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पनि ५ हजार १ सय ११ रुपैयाँदेखि ११ हजार १ सय ११ रुपैयाँ नगदसहित पदक प्रदान गरिने आयोजकले जनाएको छ ।