काठमाडौं । साँघुरो अन्तरको जित निकाल्दै शुक्रबार सम्पन्न दोस्रो हिमालयन फुटसल गोल्डकप नकआउट फुटसल प्रतियोगिताको उपाधि आयोजक हिमालयन एफसीले नै जितेको छ ।
भाटभटेनी हेल्थ क्लबमा भएको उपाधि भिडन्तमा हिमालयनले ठमेल एकता क्लबलाई १–० को अन्तरले हराउँदै उपाधि जित्न र रक्ष ागर्न समेत सफल भएको हो । स्मरण रहोस, आयोजक हिमालयन पहिलो संस्करणको विजेता समेत हो ।
विजेता बनेको हिमालयनले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता ठमेल एकता क्लबले १ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो । ठोक्रे एफसी (ए) फेयर प्ले टिम बन्यो ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक दिपेश श्रेष्ठ बन्दा उत्कृष्ट प्रशिक्षक सुरेश श्रेष्ठ चुनिए । त्यस्तै उत्कृष्ट म्यानेजर सन्दिप तामाङ बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी लाक्पा तामाङ घोषित भए ।
प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण शुभेच्छुक, सहयोगी, प्रायोजक लगायत सदस्यहरुलाई आयोजक क्लबका अध्यक्ष बिनोद कार्कीले आभार र धन्यवाद प्रकट गरे । दुई दिने प्रतियोगितामा कुल ३८ टोलीहरुले सहभागिता जनाएका थिए ।