वालिङ । ट्रिनिटी क्लब, वालिङ, स्याङ्जाको आयोजनामा यहाँ सम्पन्न पितृ स्मृति ट्रिनिटी कप गण्डकी प्रदेशस्तरीय यु–१६ महिला फुटबल प्रतियोगिताको उपाधि देवचुली नगरपालिकाले जितेको छ ।
फाइनलमा आयोजक ट्रिनिटी क्लब ए लाई शून्यका विरुद्ध १ गोलले हराउँदै देवचुली च्याम्पियन बनेको हो । वालिङ खेलमैदानमा सम्पन्न फाइनल खेलमा देवचुलीले पाएको आत्मघाती गोल नै टोलीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।
विजेता बनेको देवचुली नगरपालिकाले उपाधिसहित नगद १ लाख हात पार्दा उपविजेता ट्रिनिटी क्लबले ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक देवचुलीकी सम्झना बोटे बन्दा उत्कृष्ट डिफेन्डर ट्रिनिटीकी अन्जली श्रेष्ठ ब्निन् । उत्कृष्ट फरवार्डको पुरस्कार पनि ट्रिनिटी कै प्राश्ना परियारले हात पारिन् ।
त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार देवचुलीकी प्रतिक्षा नेपालीले हात पार्दा उदीयमान खेलाडी ट्रिनिटीकी सुनिता राजन मगर बनिन् । उत्कृष्ट प्रशिक्षक देवचुलीका रमेश गुरुङ चुनिए । उत्कृष्ट म्यानेजर पनि देवचुलीका ओम चन्द्र महतो बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी देवचुलीकी इशा चौधरी घोषित भईन् ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई फाइनल खेल तथा समापन कार्यक्रमकी प्रमुख अतिथी वालिङ नगरपालिका, स्याङजाकी उप–प्रमुख कविता तिवारी लगायतले पुरस्कृत गरेका थिए ।