काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले फिफा विन्डोमा नपरेको भारत विरुद्धको अर्को मैत्रीपूर्ण खेल बुधबार सिक्किममा खेल्ने तय भएको छ । सिक्किम एफएको आयोजना र व्यवस्थापनमा हुन गईरहेको उक्त खेल निर्धारित मिति भन्दा एक दिन अगाडी नै हुने तय भएको हो ।
जसको अर्थ नेपाल र भारतले अन्तर्राष्ट्रिय फुटबल म्याच खेलेको ७२ घण्टा नपुग्दै अर्को अन्तर्राष्ट्रिय म्याच खेल्नुपर्नेछ । स्मरण रहोस, नेपाल र भारत बीच सोमबार मात्रै इरानको समेत सहभागिता रहेको तीन देशीय सिरिज अन्तर्गतको अन्तिम खेल सम्पन्न भएको थियो । जसमा नेपालले २–१ को जित हात पारेको थियो । सिरिज उपाधि भने नेपाल र भारतलाई हराएको इरानले जितेको थियो ।
नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोली मंगलबार मात्रै बागडोगरा पुगेका थिए । त्यहाँ दुवै टोलीले गाङतोकको यात्रा तय गर्नेछन् । सिक्किम एफएका अनुसार नेपाल र भारत बीचको दोस्रो मैत्रीपूर्ण खेल गाङतोक स्थित पाल्जोर स्टेडियममा हुनेछ । साथै खेल अवलोकन गर्ने दर्शकहरुका लागि प्रवेश निःशुल्क गरिएको समेत एफएले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।
नेपाली टोलीमा साबित्रा र प्रिती
त्यस्तै नेपाली टोलीका दुई महत्वपूर्ण सदस्यद्वय कप्तान साबित्रा भण्डारी र मिडफिल्डर प्रिती राई भने टिममा नहुने निश्चित भएको छ । सोमबार भारत विरुद्ध निर्णायक दुई गोल गरेकी कप्तान साबित्रा र प्रिती क्लब ड्युटीमा फर्कनुपर्ने कार्यक्रम छ ।
बुधबार हुने खेल फिफा विन्डोतर्फ नपर्ने भएकाले उनीहरु क्लब ड्युटीका लागि फर्कनुपर्ने भएको हो । साबित्राले अष्ट्रेलियाको शिर्ष महिला लिग खेल्ने टोली न्युजिल्याण्डको वेलिङटन फिनिक्सका खेल्ने कार्यक्रम छ भने प्रितीले जोर्डनको इतिहाद क्लबमा सामेल हुनुपर्ने कार्यक्रम तय भईसकेको छ ।