फोर्टिन स्टार युवा क्लब, तम्घास, गुल्मीको आयोजनामा छैठौं फोर्टिन स्टार कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा चार खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा रिडर्स पब्लिक स्कुलले गण्डकी बोर्डिङ स्कुललाई ६-० को फराकिलो अन्तरले पराजित गर्यो। रिडर्सका सोनिक सारु र पुजन भण्डारीले दुई–दुई गोल गर्दा लभ सोमाई र एड्रिन थापाले एक–एक गोल गरे।
दोस्रो खेलमा आदर्श विद्या आश्रमले ब्रिलियन्ट युनाइटेड एकेडेमीलाई २–० ले हरायो। आदर्शका लागि प्रयेश पाण्डेले एक गोल गरे भने एक गोल आत्मघाती (ओन गोल) भएको थियो। तेस्रो खेलमा उपल्लो तम्घासले लिटिल स्टारलाई ४–० ले पराजित गर्यो। उपल्लो तम्घासका छबिलाल कला चम्किँदै ह्याट्रिक पूरा गरे भने अविनाश कुँवरले एक गोल थपे।
चौथो खेलमा अर्जुन इङ्लिस स्कुलले जनता मा.वि.लाई २–१ ले पराजित गर्यो। अर्जुन इङ्लिस स्कुलका लागि लभसन सुनार र आर्यन कार्कीले गोल गर्दा जनता मा.वि.का विराट पाण्डेले एक गोल फर्काए।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।