News महेन्द्र मावि, रेसुङ्गा मावि, उपल्लो तम्घास मावि र पालुखा मावि छैठौं फोर्टिन स्टार कपको सेमिफाइनलमा
गोलनेपाल

इस्मा । महेन्द्र मावि, रेसुङ्गा मावि, उपल्लो तम्घास मावि र पालुखा मावि गुल्मीको तम्घासमा जारी छैठौं फोर्टिन स्टार कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोतिाको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको दिनको पहिलो क्वाटरफाइनलमा महेन्द्र माविले सिद्धबाबा माविलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । महेन्द्र माविको जितमा दुवै गोल भुवन मगरले गरे ।

दोस्रो क्वाटरफाइनलमा रेसुङ्गा माविले अर्जुन इङलिस बोर्डिङ स्कुललाई ४–१ को अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । रेसुङ्गाको जितमा आदेश बिकले दुई गोल गर्दा प्रशान्त कुँवर र निश्चल बरईले समान एक–एक गोल गरे । उता पराजित अर्जुन इङलिस बोर्डिङ स्कुलका लागि लवसन सुनारले एक मात्र सान्त्वना गोल फर्काए ।

तेस्रो क्वाटरफाइनलमा उपल्लो तम्घासले रिडर्स पब्लिकलाई २–० ले हरायो र सेमिफाइनलमा स्थान बनायो । उपल्लो तम्घासको जितमा छविलाल काला र लोपसन बिकले समान एक–एक गोलको योगदान दिए ।

उता चौथो क्वाटरफाइनलमा पालुखा माविले आदर्श विद्या आश्रमलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा पालुखा विजयी बनेको हो ।

फोर्टिन स्टार युवा क्लब, तम्घास, गुल्मीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

 

Post Comments