News लामा समाज र जलकन्या श्रीजङ राय स्मृति फुटबलको सेमिफाइनलमा
रमेश समदर्शी

ह्वाकु (तेह्रथुम) । लामा गुरुङ एकता समाज र जलकन्या एफसी यहाँ जारी श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

छैटौ संस्करणको आज भएको दुई क्वाटरफाइनल खेलबाट लामा गुरुङ र जलकन्या अन्तिम चारमा प्रवेश गरेका हुन् । तेस्रो क्वाटरफाइनल खेलमा ताप्लेजुङको न्यू ब्वाइज क्लब फूलबारीलाई ३-१ गोलअन्तरले पराजित गर्दै लामा समाज सेमिफाइलनमा प्रवेश गरेको हो । उसका लागि कप्तान सन्दिप गुरुङले खेलको ५ मिनेटमै गोल गरेका थिए । यसैगरी, सन्तोष लिम्बूले ३३औँ र सागर श्रेष्ठले ३८औँ मिनेटमा गोल गरे ।

फूलबारीका लागि सान्त्वना गोल १८ओँ मिनेटमा एलेक्स गुरुङले गोल गरेका थिए । खेलमा एक गोल र दुई एसिस्ट गोल गरेका सन्तोष लिम्बू प्लेयर अफ दी म्याच बन्दै नगद १ हजारसहित ट्रफी पाउन सफल भए ।

यसैगरी, आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा जलकन्याले डाँगी एफसीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो । जलकन्याका लागि ८ मिनेटमै अभिषेक कन्दङवाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, डाँगी एफसीका दिपेश लिम्बूले १५औँ मिनेटमा बराबरी गोल गरे ।

यसपछि पासाङ शेर्पाले खेलको ४०औँ र ५१औँ मिनेटमा व्यक्तिगत गोल गर्दै टिमलाई सेमिफाइनल यात्रा गराएका हुन् । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद १ हजारसहित ट्रफी पाउन सफल भए ।

भोलि दुई सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा आयोजकको बी टिमले लामा समाजसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ भने अन्तिम सेमिफाइनलमा जलकन्याले आयोजकको टिम बीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी पाउने छ ।

Post Comments