News राइजिङ स्टार नवलपरासीमा जारी आठौं बसन्त कपको क्वार्टरफाइनलमा
गोलनेपाल

बसही । सरावल गाउँपालिका वडा न. एक बसही रङ्गशाला नवलपरासीमा श्री बसन्त युथ क्लबको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौ बसन्त कप अन्तर्गत बुधबार राइजिङ स्टार फुटबल क्लब भुमही नवलपरासी र नेपाल प्रहरी सुनवल कीर्तिपुर प्रतिस्पर्धा गरेका छन् ।

उक्त खेलमा नेपाल प्रहरी सुनवल कीर्तिपुरलाई १-० को साँघुरो नतिजामा पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब क्वार्टर फाइनल प्रवेश गरेको छ। राइजिङ स्टारलाई जित दिलाउनका लागि दोस्रो हाफको ११ मिनेटमा अविनाश बासफोरले एकमात्र निर्णायक गोल गरेका थिए। अधिकांश समय नेपाल प्रहरीलाई दबाबमा राखेको राइजिङ स्टारले थप गोल गर्ने धेरै अवसरहरू चुकाएको थियो।

नेपाल प्रहरीले पनि केही अवसरहरू प्राप्त गरेता पनि गोल गर्न नसक्दा यस प्रतियोगिताको पहिलो चरणबाट नै बाहिरिन पुगेको छ। उक्त खेलमा निर्धारित समयभर प्रभावशाली खेल प्रदर्शन गरेका राइजिङ स्टारका दिलिप चौधरी म्यान अफ दि म्याच बन्दै नगद रु.१००० र ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगिता अन्तर्गत  बिहिबार योङ बोइज देबदह रुपन्देही र भैरव स्पोर्ट्स क्लब नवलपरासी दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगिताको मुख्य प्रायोजक सरावल गाउँपालिका वडा न.एक रहेको छ भने, दोस्रो पुरस्कार प्रायोजक सरावल उद्योग वाणिज्य संघका बरिस्ट उपाध्यक्ष तथा युवा समाजसेवी बिरेन्द्र यादब रहनुभएको छ।

Post Comments