News प्रदेश नम्बर २ को एन्फा लिगमा दुई खेलहरु बराबरीमा सकिए
गोलनेपाल

चन्द्रपुर । चन्द्रपुर मेयर प्रदेश नं. २ एन्फा लिग फुटबल प्रतियोगिता अन्तरगत दोस्रो दिन दुई खेलहरु सम्पन्न भएका छन् । पहिलो खेलमा समूह बी तर्फ बैंखडी युवा क्लब, महोत्तरी र युनिभर्सल युवा क्लब, सर्लाहीले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलको म्यान अफ द म्याच युनिभर्सल युवा क्लबका अभिषेक वाईबा घोषित भए ।

चन्द्रपुर–६ रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा भएको समूह बी तर्फ कै अर्को खेलमा हिम कस्तुरी युवा क्लब, सिराहा र यज्ञ भुमि युवा समाज, धनुषाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

खेलमा यज्ञ भुमिका लागि ७९औं मिनटमा आशिष बलम्पाखीले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर ८५औं मिनटमा हिम कस्तुरीका लागि दिपेन्द्र चौधरीले बराबरी गोल फर्काउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच यज्ञ भुमिका दिपेन्द्र बिक घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ २८ गते बुधबार पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा मनकामना युवा क्लब, रौतहट र पर्सा फुटबल क्लब, पर्सा भिड्ने छन् भने दोस्रो खेलमा शम्भुनाथ युवा क्लब, सप्तरी र मौवादेवी युवा क्लब, बारा भिड्ने छन् ।

प्रतियोगितामा सहभागिता प्रदेश २ का ८ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रदेश फुटबल संघ, प्रदेश नं. २ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

चन्द्रपुर नगरपालिका, रौतहट र रौतहट जिल्ला फुटबल संघको विशेष सहयोग रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । फाइनल खेल आउँदो फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments