News आयोजक रिभर साइड सेमिफाइनलमा
गोलनेपाल

धरमपुर । आयोजक रिभर साइड युवा क्लब, धरमपुर, सप्तरी जारी एक्सिट्रम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा रिभर साइडले शान्ति युवा क्लब, इटहरीलाई ५–२ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउने तेस्रो टोली बन्न सफल भएको हो ।

रिभर साइडको जितमा राहुल सुनारले ह्याट्रिकसहित चार गोल गरे भने थप एक गोल सन्देश मगरले गरे । उता पराजित शान्ति युवाका लागि दुवै गोल हर्षित चौधरीले गरे । खेलमा चार गोल गरेका रिभर साइडका राहुल सुनार म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २८ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल गेरबाबा फुटबल क्लब, अर्जुनधारा, झापा र कटारी टाईगर्स फुटबल क्लब, कटारी, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।

रिभरसाईड युवा क्लब, कञ्चनरुप–१२, धरमपुर, सप्तरीको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।

 

Post Comments