News चित्लाङ प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने
गोलनेपाल

जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नम्बर -१० स्थित छेवेटार खेलमैदानमा जारी प्रथम पृथ्वीनारायण गोल्डकप अन्तर्गत चित्लाङ फुटबल क्लब र श्री टोखा भगवती बीचको दोस्रो सेमीफाइनल खेल भव्यताका साथ सम्पन्न भएको छ।

बिहिबार सम्पन्न उक्त खेलमा श्री टोखा भगवतीलाई ३–० को फराकिलो नतिजामा पराजित गर्दै चित्लाङ फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको उक्त खेल दोस्रो हाफमा चित्लाङले तीन गोल गरेको थियो। चित्लाङको जितमा मथेव बाबा तुन्डे ले दुई गोल तथा चेतन कुमार लिम्बुले एक गोल गरेका हुन्।

दोस्रो हाफ सुरु भएको ८ मिनेटमा बाबा तुन्डेले उत्कृष्ट गोल मार्फत चित्लाङलाई अग्रता दिलाएका थिए। साथै ३० औं मिनेटमा पुनः बाबा तुन्डेले व्यक्तिगत दोस्रो गोल गर्दा चित्लाङ जित नजिक पुगिसकेको थियो। निर्धारित समयको अन्त्यमा चेतन कुमार लिम्बुले थप एक गोल गर्दै चित्लाङको जित सुनिश्चित गरेका हुन्। उक्त खेलमा व्यक्तिगत दुई गोल गरेका मथेव बाबा तुन्डे नायक साबित हुँदै नगद रु.५००० प्राप्त गरेका छन्।

उपाधिका लागि फाल्गुन २ गते शनिबार चित्लाङ फुटबल क्लबले नेपाल पुलिस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

साथै उक्त खेलको प्रत्यक्ष प्रसारण गोल नेपालको आधिकारिक युट्युब च्यानलबाट हेर्न सक्नुहुनेछ। 

 

Post Comments