बुटवल । मणिग्राम युनाइटेड, तिलोत्तमा–५, रुपन्देहीको आयोजना तथा हिमाल युथ क्लब, तिलोत्तमा, रुपन्देहीको सह–आयोजनामा सम्पन्न ’मणिग्राम युनाइटेड फुटसल कप’ खुला फुटसल प्रतियोगिताको उपाधि आयोजक मणिग्राम युनाइटेडले नै जितेको छ ।
बुटवल स्थित स्वर्णिम फुटसलमा भएको फाइनलमा मणिग्रामले नयाँ गाउँ युनाइटेड, बुटवललाई ४–१ को अन्तरले हराउँदै उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
विजेता बनेको मणिग्राम युनाइटेडले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता बनेको नयाँ गाउँ युनाइटेडले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी नयाँ गाउँ युनाइटेडका जितेश गुरुङ घोषित भए । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक मणिग्राम युनाइटेडका संगम थापा बन्दा सर्वाधिक गोलकर्ता मणिग्राम युनाइटेड कै सरोज पनेरु बने । त्यस्तै इमर्जिङ खेलाडीको पुरस्कार खस्यौली एफसीका युनिष केसीले हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ का वार्ड अध्यक्ष गणेश पाठक, विशिष्ठ अतिथी तिलोत्तमा वार्ड नम्बर ५ का वार्ड अध्यक्ष रमेश डुम्रे, हिमाल युथ क्लबका अध्यक्ष सुमन बस्याल, मणिग्राम युनाइटेडका अध्यक्ष मदन सलामी मगर, कार्यक्रम संयोजक सन्तोष खत्री, प्रचार प्रसार संयोजक दिपेन बुढाथोकी लगायतले पुरस्कृत गरेका थिए ।
खेलकुदसँगै सामाजिक जिम्मेवारी पनि बहन गर्दै आईरहेको युवाहरुको समूहद्वारा स्थापित मणिग्राम युनाइटेड र हिमाल युथ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल २० टोलीहरु सहभागि थिए ।