News दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
सुरज राना मगर

शिवराज । ग्रीन भिजन युथ क्लब र आयोजक शिवशक्ति युवा क्लब कपिलवस्तुमा जारी दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो सेमिफाइनलमा ग्रीन भिजनले शिवगढी स्र्पोटिङ युथ क्लबलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । ग्रीन भिजनको जितमा अवतार थापाले दुई गोल गर्दा थप एक गोल पारस राना मगरले गरे । खेलमा ग्रीन भिजनका दुई गोलकर्ता अवतार थापा प्लेयर अफ दि म्याच बने ।

त्यस्तै आइतबार नै भएको दोस्रो सेमिफाइनलमा शिवशक्तिले जागृति युथ क्लबलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो । शिवशक्तिको जितमा दुवै गोल सुरज चौधरीले गरे । खेलमा शिवशक्तिका लागि निर्णायक बनेका सुरज चौधरी नै प्लेयर अफ दि म्याच घोषित भए ।

अब यही चैत्र १७ गते मंगलबारका दिन हुने फाइनलमा ग्रीन भिजन युथ क्लब र आयोजक शिवशक्ति युवा क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक अर्जुन शर्माले जानकारी दिए ।

शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

 

Post Comments