कटारी । उत्कृष्ट जितका साथ चात्या सा फुटबल क्लब, झापा उदयपुरमा जारी छैठौं कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा चात्या साले घरेलु टोली कटारी ११ फुटबल क्लब, उदयपुरलाई ३–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । चात्या साको जितमा सौरभ लिम्बु, बिबेक पौडेल र पुजन चौधरीले गोल गरे । खेलमा चात्या साका सौरभ लिम्बु म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत बैशाख ३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल जस्ट जोन फुटबल क्लब, नाइजेरिया र सलहेश युवा क्लब, सिरहाबीच हुने आयोजकले जानकारी दियो ।
नगर खेलकुद विकास समिति, कटारी, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख ५ गतेका दिन हुनेछ ।