News उत्कृष्ट कमब्याक गर्दै म्याङलुङ स्पोर्टिङ त्रिशाली गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ मा तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले उत्कृष्ट कमब्याक गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

तेस्रो क्वाटरफाइनल खेलमा म्याङलुङले मरिक एफसी धरानलाई सडन डेथमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

“यलम्बरको सान, कुम्मायकको पहिचान” भन्ने मूल नारासहित पृथ्वी माविको खेलमैदानमा सम्पन्न खेल निकै रोमाञ्चक बन्यो। पहिलो हाफमा २–० को अग्रता बनाएको मरिक एफसी दोस्रो हाफमा दबाब सम्हाल्न नसक्दा म्याङलुङले शानदार कमब्याक गर्दै खेल २–२ को बराबरीमा पुर्‍यायो।

निर्धारित समय बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलियो। पेनाल्टीमा पनि ४–४ को बराबरी भएपछि अन्ततः सडन डेथमार्फत नतिजा टुंगिएको हो, जहाँ म्याङलुङले बाजी मार्दै ऐतिहासिक जित दर्ता गर्‍यो।

निर्धारित समयमा मरिकका लागि नितेश लिम्बु र सबिन राईले एक–एक गोल गरे भने म्याङलुङका सन्तोष लिम्बु र विदेशी खेलाडी बिल्गोले बराबरी गोल फर्काए।

खेलको ‘प्लेयर अफ दि म्याच’ म्याङलुङका सन्तोष लिम्बु घोषित भए। उनले नगद रु. ७,००० सहित सम्मान प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत चौथो दिन बैशाख २२ गते मंगलबार पथरी ११ मोरङ र पाँचथर एफसी पाँचथरबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रत्येक टिमले ४ जना विदेशी खेलाडीसमेत समावेश गर्न पाउने व्यवस्था गरिएको छ। बैशाख २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ४,२५,५५५ र उपविजेताले रु. २,१२,७७७ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यलम्बर युवा संस्थाद्वारा त्रिशाली पूजा तथा मेलाको अवसरमा आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कार प्रदान गरिनेछ।

Post Comments