News बागमती युथ उपाधी नजिक
गोलनेपाल

मकवानपुर: सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार सहिद स्मृति रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै बागमती युथ उपाधि नजिक पुगेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको ११औं मिनेटमा फ्रेन्ड्स क्लबका कप्तान रुपेश केसीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए भने खेलको ८५औं मिनेटमा बागमतीका आयुष मगरले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।

टाइब्रेकरमा बागमतीका अनिष महर्जन, भुपल मगर, आयुष मगर, अमन लामा र युवराज ढकालले सफल प्रहार गरे। फ्रेन्ड्सका लागि सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गरे भने प्रशान्त लक्षमको प्रहार बाहिरिएको थियो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमतीका आयुष मगर प्लेयर अफ द म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।

यसअघि बागमतीले प्रि–क्वाटरफाइनलमा आयोजक बागमती खेलकुद विकास समितिलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो भने क्वाटरफाइनलमा साविक विजेता चर्च ब्वाइजलाई पराजित गरेको थियो।

अब बागमती युथले उपाधिका लागि चित्लाङ एफसी र नव जनजागृतीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल बिहीबार हुने तालिका रहेको छ भने फाइनल खेल वैशाख २६ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै, सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Post Comments