मन्थली । आइतबारदेखि शुरु भएको चौथो रामेछाप कपमा दिपशिखा ब्वाईज युनाइटेड क्लबले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा दिपशिखाले सनिमदौ सोसल सिटी युथ क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ दिपशिखाका लागि करन खड्काले गोल गरेका थिए भने सनिमदौका लागि दिपेश राईले गोल गरेका थिए ।
खेलमा दिपशिखाका रेम्बो चौधरी प्लेयर अफ द म्याच बने । यो जितसँगै दिपशिखा सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज २६ गते सोमबारको पहिलो खेल बिहान ८ बजे श्री फुलसी जनप्रिय युथ क्लब र न्यु स्टार युथ क्लबबीच हुनेछ भने दोस्रो खेल ३ बजे लिखु भुजी रामेछाप युथ क्लब र मन्थली संस्कृत युवा समाजबीच हुनेछ ।
यही असोज २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।