News चौथो रामेछाप कप: रिभरसाइडको शानदार जित, आकाशे ब्वाइज सेमिफाइनलमा
गोलनेपाल

रामेछाप। चौथो रामेछाप कपअन्तर्गत तेस्रो क्वार्टरफाइनलमा रिभरसाइड स्पोर्ट्स क्लबले मन्थली ब्वाइजलाई ६–१ गोल अन्तरले पराजित गरेको छ। त्यस्तै, चौथो क्वार्टरफाइनलमा आकाशे ब्वाइज क्लबले लिखु भुजी रामेछाप युथ क्लबलाई सडन डेथमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

रिभरसाइडको जितमा हेमन्त भुजेल र अनिल पाचे मगरले समान दुई–दुई गोल गरे भने सुदीप मगर र प्रनिश कुँवरले एक–एक गोल थपे। मन्थली ब्वाइजका स्वयम् श्रेष्ठबाट आत्मघाती गोल भएको थियो। उत्कृष्ट प्रदर्शन गरेका हेमन्त भुजेल खेलको प्लेयर अफ द म्याच घोषित भए।

यसैगरी, आकाशे ब्वाइज क्लब र लिखु भुजी रामेछाप युथ क्लबबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय सडन डेथबाट लिइएको थियो। सडन डेथमा ३–२ को जित निकाल्दै आकाशे ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। आकाशे ब्वाइजका समित श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनलमा बिहान ८ बजे आयोजक टोली र रिभरसाइड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा दिउँसो २ बजे न्यु स्टार युथ क्लब र आकाशे ब्वाइज क्लब आमनेसामने हुनेछन्।

 

Post Comments