News प्रथम सुस्ता अध्यक्ष कप शुरु, मायादेवीको विजयी शुरुवात
गोलनेपाल

सुस्ता । सुस्ता गाउँपालिका, नवलपरासीको आयोजनामा शुरु प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा मायादेवी युवा क्लब, खैरेनीले विजयी शुरुवात गरेको छ ।

सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा मायादेवीले हिमालयन युवा क्लब, सरावलमाथि २–१ को जित निकाल्दै विजयी शुरुवात गरेको हो । मायादेवीको जितमा नर बहादुर थापा र अमित क्षेत्रीले गोल गरे । पराजित टोलीको एक गोल भने मायादेवी कै गोलरक्षकले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

यो जितसँगै मायादेवी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच मायादेवीका नर बहादुर थापा घोषित भए । प्रतियोगिता अन्तरगत चैत ९ गते सोमबारको खेल गोर्खा युवा क्लब र सुर्यनगर युवा क्लबबीच हुने खेल संयोजक धिरज गुरुङले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य अजय कुमार शाही, सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसा पाण्डेलगायतले संयुक्त रुपमा गरेका थिए ।

एकता युवा क्लब र जर्लैया युवा क्लबको व्यवस्थापन र संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुले बताए । १२ टँोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments