News सहज जितका साथ बर्चुली सेमिफाइनलमा
सुरज राना मगर

बर्दघाट । सहज निकाल्दै बर्चुली मावि यहाँ जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा बर्चुलीले बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा नव युवा क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो ।

बर्दघाट–४ स्थित क्याम्पा चौरमा सम्पन्न खेलको दोस्रो मिनटमै सिला मगरको आत्मघाती गोलबाट बर्चुलीले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफकै पाँचौं र ११औं मिनटमा संगिता बिकले लगातार दुई गोल थपिन् । त्यस्तै दोस्रो हाफको १२औं मिनटमा अनुपा महतोले बर्चुलीका लागि चौथो गोल गरिन् भने २०औं मिनटमा रिमा सापकोटाले पाँचौं गोल गर्दै टोलीको सहज जित पक्का गरिन् ।

खेलको प्लेयर अफ द म्याच बर्चुलीकी अन्जली नेपाली घोषित भईन् । प्रतियोगिता अन्तरगत चैत्र १३ गते शुक्रबारको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल रुपन्देही–११ र एभरेष्ट युथ क्लब, गैंडाकोटबीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने चैत्र १७ गतेका दिन हुने समेत संयोजक गुरुङले बताए ।

Post Comments