News कठिन जितका साथ सुनौलो संगम क्वाटरफाइनलमा
गोलनेपाल

चितवन । सुनौलो संगम युवा क्लब, रुपन्देही यहाँ जारी स्व. विजय खड्गी स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ सुनौलो संगमले फर्साटिकर युवा क्लब, रुपन्देहीलाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

नारायणगढ स्थित क्याम्पाचौर खेलमैदानमा भएको खेलको २२औं मिनटमा शरद क्षेत्रीको गोलबाट सुनौलोले खेलमा अग्रता लिएको थियो । तर त्यसको एक मिनट लगतै नवराज गुरुङले फर्साटिकरका लागि बराबरी गोल फर्काएका थिए ।

रोमाञ्चक बनेको दोस्रो हाफतर्फ ६०औं मिनटमा सन्जु सेनले फर्साटिकरका लागि दोस्रो गोल गरे । तर फर्साटिकरले पनि त्यो अग्रता जोगाउन सकेन । उता ७६औं मिनटमा शरद क्षेत्रीले नै सुनौलोका लागि व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरतर्फ भने सुनौलोका लागि निराजन खत्री, डेविड गुरुङ, बिशाल शाही, मोहन थापा र शंकर राईले गोल गर्न सफल भए भने फर्साटिकरका लागि मुकेश कुँवर, सुजन राना र नवराज गुरुङले मात्र गोल गर्न सके । भुपाल गुरुङले भने गोल गर्न असफल भएपछि फर्साटिकर निराश बन्न पुगेको थियो ।

सुनौलोले अब क्वाटरफाइनलतर्फ चैत्र १५ गतेका दिन दावेदार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ । शुक्रबारको खेलको म्यान अफ द म्याच सुनौलो संगमका शरद क्षेत्री घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र १४ गतेको प्रिक्वाटरफाइनल खेल अफ्रिकन रुटस एशोसिएशन, क्यामरुन र अभिषेक चर्च, रजहरबीच हुने आयोजकले जनाएको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २१ गतेका दिन हुनेछ ।

Post Comments