News ‘वाक ओभर’ पाउँदै रुपन्देही सेमिफाइनलमा
सुरज राना मगर

बर्दघाट । रुपन्देही–११ यहाँ जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत्र १३ गते शुक्रबारका दिन अन्तिम क्वाटरफाइनलमा रुपन्देही–११ र एभरेष्ट युथ क्लब, गैंडाकोट भिड्ने तय भएको थियो ।

तर आयोजकले तोकेको निर्धारित समयसम्म पनि एभरेष्ट युथ क्लबले मैदानमा उपस्थिति जनाउन नसकेपछि रुपन्देही–११ ले ‘वाक ओभर’ पाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । रुपन्देहीले अब सेमिफाइनलमा चैत्र १५ गतेका दिन लेखनाथ युनाइटेड, कास्कीसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत चैत्र १४ गते शनिबारको पहिलो सेमिफाइनल खेल घरेलु टोली नवलपरासी–११ र बर्चुली माविबीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

बर्दघाट नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०० प्राप्त गर्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने चैत्र १७ गतेका दिन हुनेछ ।

Post Comments