News देउराली फोर ब्रदर्शलाई उपाधि
सुरज राना मगर

सुस्ता । प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि देउराली फोर ब्रदर्श, सुनवलले जित्न सफल भएको छ । फाइनलमा शहरी प्रतिद्वन्द्वी तिलकाना युवा क्लब, सुनवललाई १–० ले हराउँदै फोर ब्रदर्श च्याम्पियन बनेको हो ।

सुस्ता–४ नरसही स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न कडा र प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा फोर ब्रदर्शका लागि जोन ग्लोरीले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन प्रर्याप्त बनेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता ग्लोरी नै चुनिए । विजेता बनेको देउराली फोर ब्रदर्शले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता तिलकाना युवा क्लबले ५५,५५५ रुपैयाँमा चित्त ब्झाउन बाध्य भयो ।

त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी तिलकानाका बिमल रोका घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक विजेता टोली फोर ब्रदर्शका राजाबाबु मगर चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार पनि फोर ब्रदर्श कै जोन ग्लोरीले हात पारे ।

सुस्ता गाउँपालिकाको कार्यालय, नवलपरासीको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लबको व्यवस्थापनमा यहि चैत्र ८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक धिरज गुरुङले बताए ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी, सुस्ता गाउँपालिका, नवलपरासीका अध्यक्ष रामप्रसाद पाण्डे, विशिष्ट अतिथी नवलपरासी जिल्लाका सिडिओ सागर मणि पाण्डे, सुस्ता गाउँपालिका वार्ड नम्बर ४ नरसहीका वडा अध्यक्ष अशोक कुमार गुरुङ तथा नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष धन प्रसाद गुरुङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments