News शनिश्चरे एफसी अर्जुनधारा फाइनलमा प्रवेश
गोलनेपाल

शनिश्चरे एफसी अर्जुनधारा झापा जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड युनाइटेड एफसीमाथि शानदार जीत निकाल्दै शनिश्चरेले फाइनल यात्रा तय गरेको हो । स्थानीय दीपज्योति खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा ६–१ गोल अन्तरले शनिश्चरेले बिर्तामोडलाई पाखा लगायो ।

खेलको ३ मिनेटमै शनिश्चरेका बादल तामाङले गोल गरेर अग्रता दिलाएका थिए तर बिर्तामोडका बिक्की चौधरीले खेलको ८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि बाँकी समय पूरै दबाबमा खेल्न बाध्य बन्यो ।

बिर्तामोडमाथि गोलवर्षा गर्ने क्रममा शनिश्चरेका नानी लिम्बूले ह्याट्रिक पूरा गरे । उनले ३२औँ, ४५औँ र ५५औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको ४०औँ मिनेटमा रोमन भुजेलले गोल गरेका थिए भने सौरभ लिम्बूले खेलको ५२औँ मिनेटमा गोल गर्दै फराकिलो नतिजा निकाल्न सफल भए । लज्जास्पद हारसँगै बिर्तामोड बाहिरिएको छ भने शनिश्चरेले कम्तिमा २० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

खेलको म्यान अफ दी म्याच शनिश्चरेका नानी लिम्बू घोषित भए । अर्जुनधारा ६ नम्बर वडा परिषद सदस्य तुम्बानाथ काफ्ले र खेलप्रेमी प्रदिप जोशीले पुरस्कारस्वरुप नगद २ हजार प्रदान गरे ।

कप्तानबारी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा जिल्लाका ८ टिम सहभागी छन् । भोलि (मंगलबार) झापा एफसी राजगढ र मनास्लु एफसी कालिस्थानबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

Post Comments