News रोमाञ्चक जितका साथ दुधे भेट्रान सेमिफाइनलमा
रमेश समदर्शी

सुरुङ्गा । रोमाञ्चक जित हात पार्दै दुधे भेट्रान क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा भएको क्वाटरफाइनल भिडन्तमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । दूधेले अब सेमिफाइनलमा इटहरीसँग खेल्नेछ ।

मंगलबार प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट गोल भने दोस्रो हाफमा सम्भव भएको थियो । दूधेका लागि खेलको ४८औँ मिनेटमा मोहन तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै, मोहन तामाङले नै ५५औँ मिनेटमा दुधेका लागि दोस्रो तथा निर्णायक गोल पनि गरे ।

उता लखनपुरका लागि खेलको ६१औँ मिनेटमा सुवास आङथुपोले एक मात्र सान्त्वना गोल फर्काए तापनि टोलीको झिनो अन्तरको हार भने टार्न सकेनन् । खेलको म्यान अफ द म्याच दुई गोलकर्ता दूधेका मोहन तामाङ घोषित भए । उनलाई स्थानीय फुटबलप्रेमी राजेन्द्र उप्रेतीको तर्फबाट नगद २ हजार प्रदान गरियो ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक कनकाई भेट्रान क्लब र बिराट बुद्ध भेट्रान क्लबबीच हुनेछ । कनकाई भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।

Post Comments