News सी डिभिजन लिग छनौट खेल्न भैरव पनि तयार
सुरज राना मगर

बर्दघाट । नवलपरासी र जिल्ला बाहिर स्थानीय फुटबलमा आफूलाई सक्रिय राखेको भैरव स्पोर्टस क्लब, बर्दघाटले पनि आगामी महिना शुरु हुन गईरहेको शहिद स्मारक सी डिभिजन लिग छनौट खेल्ने तयारीमा छ ।

नवलपरासी सहित आसपासका जिल्लाहरुमा सञ्चालन हुने राष्ट्रिय र स्थानीय फुटबल प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाउँदै विभिन्न उपाधि समेत जितिसकेको भैरव सी डिभिजन छनौटका लागि उत्साहित पनि छ ।

सी डिभिजन लिग छनौट कै लागि भनेर अभ्यास गरिरहेका क्लबमा हाल २५ खेलाडीहरु रहेको क्लबका प्रशिक्षक जितु पुनले बताए । स्थानीय फुटबलमा राम्रै प्रदर्शन गरिरहेका खेलाडीहरुलाई पनि सामेल गरेकाले लिग छनौटमा राम्रो प्रदर्शन गर्ने विश्वास लिएको प्रशिक्षक पुनले बताए ।

लिग छनौटमा सहभागिता कै लागि भनेर क्लबले महिना दिन अगाडीदेखि नै अभ्यास र तयारी समेत शुरु गरिसकेको क्लबका म्यानेजर अन्जन अधिकारीले बताए । अधिकारीका अनुसार लिग छनौटमा सहभागिता कै लागि प्रदेश ५ का विभिन्न स्थानीय खेलाडीहरुलाई मिलाएर राम्रो टिम बनाउने बताए ।

“टिम राम्रो बनाउने कोशिसमा छौं । टोलीमा प्रदेश नम्बर ५ का खेलाडीहरुलाई मात्र अवसर दिएका छौं । स्थानीय खेलाडीहरु भए तापनि टोलीमा राम्रा खेलाडीहरु राखेर सी डिभिजन छनौट खेल्न जानेछौं । जिल्ला कै प्रतिनिधित्व गर्दै लिग छनौट खेल्न जाने भएकाले हाम्रो प्रदर्शन जिल्ला कै प्रतिष्ठासँग पनि जोडिएको छ । त्यसैले पनि हामी आफ्नोतर्फबाट शतप्रतिशत राम्रो खेल्ने प्रयास गर्नेछौं ।”

क्लब म्यानेजर अधिकारीका अनुसार अहिलेसम्म आफ्नो एकल प्रयास र केही शुभेच्छुकहरुको सहयोगमा क्लब हाँकिरहे तापनि अब नवलपरासी जिल्लाबाट लिग छनौट खेल्ने एक्लो क्लब भएकाले सबैतिरबाट सहयोग र हौसलाको अपेक्षा समेत गरेको म्यानेजर अधिकारीले बताए ।

स्मरण रहोस, एन्फाले यहि आउँदो भाद्र १ गतेदेखि शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिताको आयोजना गर्दैछ । त्यस्तै आउँदो कार्तिक २९ गतेदेखि ए डिभिजन लिगको आयोजना गर्ने पनि घोषणा गरिसकेको छ ।

 

Post Comments