News खेलकै क्रममा नेपाली फुटसल खेलाडीको दुःखद निधन
गोलनेपाल

फुटबल खेलाडी कर्फु रसाइलीको शनिबार एक स्थानीय फुटसल म्याच खेल्ने क्रममा निधन भएको छ । नेपालको उमेर समूहको अन्तर्राष्ट्रिय फुटबल खेलाडी समेत रहेका कर्फुले शनिबार काठमाडौंको एक स्थानीय फुटसल प्रतियोगितातर्फ क्वाटरफाइनल खेलेको केही समय पश्चात् नै हृदयघातका कारण मैदानमा ढलेका थिए ।

कर्फुले उक्त प्रतियोगितामा खेलेको फुटसल टिमका प्रशिक्षकका अनुसार क्वाटरफाइनल म्याच खेलेपछि उनले अर्को म्याच हेरिरहेका थिए । त्यतिबेला उनले आफूलाई केही असहज महशुस भईरहेको बताएका थिए । साथै प्रशिक्षकले कर्फुलाई अस्पताल जान सुझाव दिंदा उनले खासै केही नभएको प्रतिक्रिया दिएका थिए ।

त्यसको केही मिनटमै उनी त्यहि ढलेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, अस्पताल पुराउँदासम्म उनले अन्तिम सास लिइसकेका थिए । डाक्टरका अनुसार कर्फुको ज्यान हृदयघातका कारण गएको हो ।

जानकारहरुका अनुसार कर्फुलाई मैदानमा आवश्यक प्राथमिक उपचार गर्न सकेको भए, उनको ज्यान जोगिन सक्ने सम्भावना बलियो रहेको बताइन्छ । यद्यपि फुटसल मैदानमा उनलाई आवश्यक प्राथमिक उपचारको समेत अभाव देखिएको थियो ।

Post Comments