News एन्फा एकेडेमीका उत्पादन उत्तम पनि बिदेशिए
गोलनेपाल

काठमाडौं । एन्फा एकेडेमीका उत्पादन पोखरेली मिडफिल्डर उत्तम गुरुङ पनि बिदेशिएका छन् । एन्फाको सेकेण्ड ब्याचका खेलाडी उत्तम बेलायत (युके) पुगेका हुन् । मंगलबार युके पुगेका उत्तमले नेपाली फुटबललार्ई धेरै मिस गर्ने बताए । उनी भन्छन्, “बिदेशिनु रहर नभएर अहिले हाम्रो लागि बाध्यता भईसकेको छ । नेपाली फुटबललाई धेरै मिस गर्नेछु ।”

एन्फा एकेडेमीमा रहँदा सन्दिप राई, बिराज महर्जन, निराजन खडका जस्ता खेलाडीहरुको ब्याचमा रहेका उत्तमले राष्ट्रियस्तरमा यु–१४, यु–१६ र यु–१९ टोलीको प्रतिनिधित्व समेत गरेका थिए । २०६३ सालमा थ्रीस्टारका लागि खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेको उत्तमले त्यसपछि आरसिटी, बौद्ध, मच्छिन्द्र, लुम्बिनी एफसी जस्ता क्लबहरुबाट पनि ए डिभिजन लिग खेले । उनले गत सिजन भने ब्रिगेड ब्वाईज क्लब (बीबीसी) का लागि पनि खेलेका थिए ।

फुटबलमा एक दशक भन्दा बढी बिताएका उत्तमले मोफसलमा हुने विभिन्न प्रतियोगिताहरुमा घरेलु टोली पोखरा–११ को कप्तानी समेत गरे । त्यसबाहेक उनले मोफसलका अन्य क्लबहरुबाट पनि विभिन्न गोल्डकप जस्ता फुटबल प्रतियोगिताहरुमा खेलेको बताए ।

अब नेपाल नफर्किने त? भन्ने प्रश्नमा उत्तम भन्छन्, “फर्किने हो तर निश्चित छैन । पहिला आफ्नो र परिवारको भविष्य बनाउनेतर्फ सोच्नुपर्यो । बाध्यताले बिदेशिए पनि एउटा खेलाडीको लागि आफ्नो देश सधै विशेष र प्यारो हुन्छ ।”

उनले सम्भव भएसम्म बेलायतमा पनि फुटबल खेल्न नछोडने बताए । स्मरण रहोस, पूर्व राष्ट्रिय खेलाडीद्वय शिव श्रेष्ठ र निराजन खड्का पनि बेलायत मै छन् ।

Post Comments