News जलथल भगिमानसिं स्मृति गोल्डकप च्याम्पियन
गोलनेपाल

झापा हल्दिबारी गाउँपालिकाको जलथल एफसी म्याङलुङ खेलमैदानमा आयोजित दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको च्याम्पियन बनेको छ ।

बिहीबार भएको फाइनल खेलमा आयोजक बिटिएफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै जलथलले उपाधि रक्षा गरेको हो । पहिलो संस्करणको विजेता माइभ्याली एफसी इलाम पहिलो खेलबाटै बाहिरिएपछि दोस्रो संस्करणमा झापाले उपाधि उचालेको हो ।

पहिलोपल्ट फाइनल पुगेको आयोजक बिटिएफसीले खेल नजिते पनि घरेलु दर्शकको मन जित्न सफल भएको छ । आयोजकले अन्य खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको खेलमा पहिलो गोल भने झापाले गरेको थियो ।

खेलको १४औँ मिनेटमा झापाका वाङ्चु तामाङले गोल गरेर अग्रता दिलाएका थिए । प्रदर्शनको तुलनामा झापाभन्दा उत्कृष्ट प्रदर्शन बिटिएफसीले गरेको थियो । १–० गोलले पछि परेको अवस्थामा बिटिएफसीले झापालाई अधिकांश समय दबाबमा राखेको थियो ।

अग्रता कायम गरे पनि झापाले बिटिएफसीको पोस्टमा आक्रमण कमै बुन्न पायो । दुवै टोलीका सदस्यले गोल गर्ने अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा नतिजा दोब्बर बनाउन पनि सकेनन् भने खेललाई बराबरीमा पुर्याउन गाह्रो बनेको थियो ।

खेलको इन्जुरी समयमा आयोजक बिटिएफसीका तर्फबाट सन्जोक लिम्बूले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । ८० मिनेटको निर्धारित समय सकिएलगत्तै उनले गोल गरेका हुन् ।

७ मिनेटको अतिरिक्त समयमा दुवै टोली आक्रामक बनेका थिए । यसैबीच, खेलको ८५औँ मिनेटमा झापाका विशाल राईले गोल गरेर उपाधि चुमाएका हुन् ।

फाइनल खेलको म्यान अफ दी म्याच जलथल झापाका कप्तान कर्ण लिम्बू घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार पाए ।

त्यस्तै, गोल्डकपमै सर्वाधिक २ गोल गरेका झापाका सरोज कार्कीले हाइस्कोरको उपाधिसँगै नगद २५ हजार पाए । त्यस्तै, उत्कृष्ट गोलरक्षक झापाका राजकुमार लिम्बू, उत्कृष्ट मिडफिल्डर झापाकै लक्ष्मण चौधरी घोषित हुँदा आयोजकका सन्देश लिम्बू उत्कृष्ट डिफेन्डर र आयोजककै दिनेश लिम्बू गोल्डकपकै उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद २५–२५ हजार पाए ।

भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमले आयोजना गरेको गोल्डकपको विजेता झापा हल्दिबारी गाउँपालिकाको जलथल एफसीले नगद ३ लाखसहित ट्रफी पायो भने उपविजेता आयोजक बिटिएफसीले नगद एक लाख ५० हजार र ट्रफीमा चित्त बुझायो ।

Post Comments