News ए डिभिजन लिगमा प्रत्येक खेल जित्ने क्लबलाई ५० हजार म्याच मनी दिईने
गोलनेपाल

काठमाडौं । प्रतिष्ठत शहिद स्मारक ए डिभिजन लिगमा यस बर्ष सहभागि क्लबहरुले खेल जिते वापत जित्ने क्लबले म्याच मनी स्वरुप नगद ५० हजार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश खेलकुद विकास परिषद्बीच शुक्रबार भएको सहमति अनुसार ए डिभिजन लिगमा जित्ने टोलीहरुले सो रकम पाउने छन् ।

त्यस्तै लिगमा दुवै टोलीले बराबरी खेले सो म्याच मनी दुवै टोलीलाई बराबर भाग लगाईने पनि एन्फाले बताएको छ । परिषद् र एन्फाबीच भएको सहमति अनुसार परिषद्ले एन्फालाई एक करोड रुपैयाँ उपलब्ध गराउनेछ ।

आगामी कार्तिक २९ गतेदेखि शुरु हुन गईरहेको ए डिभिजन लिगमा कुल ९१ खेलहरु सञ्चालन हुनेछन् । जसका लागि ४५ लाख ५० हजार म्याच मनीमा खर्च हुनेछ । त्यस्तै प्रदेश सरकारको तर्फबाट लिगको उदीयमान खेलाडीलाई नगद १ लाख प्रदान गरिने समेत सहमति भएको छ ।

त्यति मात्र नभएर प्रदेश लिगका लागि पनि परिषदले ५० लाख एन्फालाई दिने सहमति भएको छ । प्रदेश लिग भने देशका विभिन्न जिल्ला लिग च्याम्पियनहरु बीच हुनेछ ।

हेटौडामा सम्पन्न सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र परिषदको तर्फबाट सदस्य सचिव सुर्यलाल भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

 

Post Comments