News नवलपुरकाे मध्यविन्दुमा सहयात्री कप फुटबल हुँदै
गोलनेपाल

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ मा संरक्षणका लागि फुटबल प्रतियोगिता हुने भएको छ ।

सङ्कटापन्न अवस्थाका घडियाल गोही तथा एक सिङ्गे गैँडा संरक्षणमा योगदान पुर्याउन भन्दै प्रथम सहयात्री कप खुला नकआउट फुटबल प्रतियोगिता–२०७८ को आयोजना गरिएको हो ।

मध्यविन्दु–३ ब्रह्मस्थानमा रहेको ब्रह्मदीप सहयात्री क्लबको आयोजनामा आगामी असोज १० गतेदेखि फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष भानुभक्त पौडेलले जानकारी दिनुभयो । दसैँका अवसर पारेर सञ्चालन हुन लागेको फुटबल प्रतियोगिताबाट नारायणी नदीमा पाइने सङ्कटापन्न अवस्थाका घडियाल गोही र दुर्लभ एक सिङ्गे गैँडा संरक्षणको सन्देश दिइने अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रतियोगितामा चितवनदेखि रुपन्देहीसम्मका करिब ३० वटा फुटबल क्लबहरुले सहभागिता जनाउने पौडेलको भनाइ छ ।

प्रतियोगितामा पहिलो हुने क्लबले उपाधिसँगै रु ४० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने खेल संयोजक लब पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको उपविजेताले रु २० हजार पाउने भन्दै पौडेलले प्रतियोगिता अवधिको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने बताउनुभयो ।

प्रतियोगिताबाट बचत भएको आम्दानीको केही प्रतिशत रकम संरक्षणसम्बन्धी कार्यक्रममा खर्च गरिने खेल संयोजक पौडेलको भनाइ छ । - रासस

Post Comments