News सुमन निर्णायक बन्दा पुलिसलाई तीन अंक
गोलनेपाल

काठमाडौं । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुमन लामाले निर्णायक गोल गरेपछि कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले आइतबार महत्वपुर्ण तीन अंक बटुलेको छ ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै महत्वपुर्ण तीन अंक बटुलेको हो । खेलको ७०औं मिनटमा सुमन लामाले बक्स भित्रबाट गरेको कडा प्रहार गोलमा परिणत हुँदा पुलिसले ३ अंक आफ्नो पोल्टामा पार्यो ।

खेलमा पुलिसका रवि पासवान म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै जित हात पारेको पुलिसले म्याच मनी वापत ५० हजार पनि प्राप्त गर्यो ।

स्मरण रहोस, पुलिसले पहिलो चरणको खेलमा अर्को विभागीय टोली आर्मीसँग बराबरी खेलेको थियो । उता जावलाखेलको भने यो लगातार दोस्रो हार हो । यसअघि जावलाखेलले मनाङसँग पहिलो चरणको खेलमा हार बेहोरेको थियो ।

लिगमा पुलिसको दुई खेलबाट ४ अंक भएको छ भने जावलाखेल अझै अंकविहीन छ ।

Post Comments