News काँकरभिट्टा फराकिलो नतिजाबाट फाक्तेप गोल्डकपको फाइनलमा
रमेश समदर्शी

यहाँ जारी एनी फाक्तेप गोल्डकपमा अनपेक्षित नतिजा निकाल्दै काँकरभिट्टाको तुर्केनी युथ एफसी फाइनल प्रवेश गरेको छ ।

अन्तिम सेमिफाइनल खेलमा बिहीबार झापाकै जलथल एफसीलाई ६-१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै काँकरभिट्टाले बाजी मारेको हो । जितसँगै काँकरभिट्टाले धरान सिटी एफसी सुनसरीसँग फाइनल भेट पक्का गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा उपाधिको दाबेदार मानिएको जलथल एफसीका तर्फबाट स्कोर हुन सकेको थिएन । ७ गोलमध्ये पहिलो हाफमा ३ र अन्तिम हाफमा ४ गोल भएको थियो । कर्ण लिम्बूको कप्तानीमा रहेको जलथल एफसीका लागि सरोज कार्कीले मात्र गोल गरे ।

पहिलो हाफको करिब ४ मिनेटमा काँकरभिट्टाले ३ गोल गरेको थियो । सुरुवाती गोल भने काँकरभिट्टाका कप्तान मिलन राईले खेलको १९औँ मिनेटमा गरेका थिए । उनैले दोस्रो हाफको ३४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

यस्तै, पहिलो हाफकै २२औँ मिनेटमा अफ्रिकन खेलाडी साहेवलले र २५औँ मिनेटमा योगेश गुरुङले गोल गरेका थिए । यस्तै, दोस्रो हाफको १६औँ मिनेटमा अर्का अफ्रिकन खेलाडी योमीले गोल गरेर फराकिलो अन्तर निकालेका थिए ।

परिवर्तित खेलाडी मिलन गुरुङले खेलको इन्जुरी समयमा गोल गर्दै ६-१ गोलको अन्तर निकालेका थिए । यसअघि जलथलका लागि दोस्रो हाफको ३२औँ मिनेटमा सरोज कार्कीले गरेको एकमात्र गोल दर्शनीय थियो । कर्नर प्रहारमा सरोजले सेकेण्ड बारको जिरो एंगलबाट जाली चुमाएका थिए ।

खेलको म्यान अफ दी म्याच काँकरभिट्टाका अफ्रिकन खेलाडी योमी घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रायोजक कनकाई गार्मेन्ट एवम् एनी ब्राण्डका सञ्चालक सन्तोष थोप्रा लिम्बूले नगद ३ हजार प्रदान गरे ।

गोल्डकपको फाइनल भिडन्तमा धरान सिटी एफसी र तुर्केनी युथ एफसीबीच शनिबार खेल हुनेछ । फाइनल खेलको प्रमुख अतिथि प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राई रहने आयोजकले जनाएको छ ।

शिवसताक्षी ७ को फाक्तेप फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी पाउनेछ ।

Post Comments