News संकटासँग जोगियो मनाङ
गोलनेपाल

काठमाडौं । खेलमा दुईपटक पछि परेको स्थिति उल्टाउँदै मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलको ३२औं मिनटमा निरज बस्नेतको गोलबाट संकटाले खेलमा अग्रता लिएको थियो । लक्ष्मण रुचालको फ्रिकिकमा बस्नेतले सुन्दर हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर ३५औं मिनटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए । यद्यपि उता ७०औं मिनटमा उत्तम राईको गोलबाट संकटाले फेरि खेलमा अग्रता लियो । तर त्यो अग्रता पनि संकटाले जोगाउन सकेन ।

हार नजिक पुगिसकेको मनाङका लागि इन्जुरी समयको ९०+४औं मिनटमा फ्रेंकलिनले दोस्रो गोल गर्दै आठपल्टको च्याम्पियन मनाङको सम्भावित हार टारेका थिए भने खेललाई रोमाञ्चक २–२ को बराबरीमा समेत ल्याएका थिए ।

खेलमा संकटाका टाम्पी अर्नेस्ट म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै बराबरी खेलेका संकटा र मनाङले २५–२५ हजार म्याच मनी पनि प्राप्त गरे ।

यो नतिजापछि ३ खेलबाट ७ अंक जोडेको मनाङ दोस्रो स्थानमा पुगेको छ । त्यस्तै ५ अंक जोडेको संकटा भने तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने ७ अंक नै जोडेको सातदोबाटो युथ क्लब छ ।

Post Comments