News अल इन वानको जितमा पुजनको ह्याट्रिक
रमेश समदर्शी

पाँचथर । झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिकसँगै ७-३ गोलअन्तरमा विजयी बनेको हो ।

झापाका लागि राईले खेलको २०, ५६ र ६२औँ मिनेटमा गोल गरे । यस्तै, दिपेश श्रेष्ठले खेलको ४३ र ४७, आशिष गुरुङले १४ र विशाल राईले ५४औँ मिनेटमा  थप गोल गरेर टिमलाई फराकिलो जित दिलाए ।

उता  आयोजक स्वतन्त्र एफसीका लागि कप्तान अर्जुन गुरुङले खेलको ६८ र ७१ तथा किस्मत लिम्बूले १७औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच झापाका पुजन राई घोषित भए ।

प्रतियोगिता अन्तरगत बुधबार दुई खेलहरु हुनेछन् । भारत सिक्किमको एक टिमसहित प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।  पुस ३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।

Post Comments