News मैदान बाहिर पनि खेलाडीहरुको हौसला बढाउँदै जावलाखेल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा सुस्त शुरुवात गरेको जावलाखेल युथ क्लबले पाँचौं चरणमा आइपुग्दा लिगको पहिलो जित दर्ता गर्यो ।

पाँचौं चरणको खेलमा च्यासल विरुद्ध १–० को साँघुरो र महत्वपूर्ण जित हात पारेको जावलाखेलले रेलिगेशनको दबाबलाई पनि केही हदसम्म हलुका बनायो । त्यो जितपछि पाँच खेल ४ अंक जोड्न सफल जावलाखेलले रेलिगेशन क्षेत्र छाड्दै लिगतालिकाको १२औं स्थानमा समेत उक्लियो ।

त्यो जित क्लबका लागि कति महत्वपूर्ण थियो भने, लिगमा खेलाडीहरुलाई थप हौसला प्रदान गर्न जावलाखेलले मंगलबार आफ्ना चार खेलाडीहरुलाई नगद र खेलकुद सामाग्रीसहित पुरस्कृत गर्यो ।

टिमको प्रदर्शन राम्रो प्रदर्शन र मेहनत गरेको भन्दै क्लबले अफ्रिकी खेलाडीद्वय जुनियर, फ्लोरेन्ट तथा रुप बहादुर लामा र राजेन्द्र रावललाई नगद तथा खेलकुद सामाग्रीसहित पुस्कृत गर्यो ।

खेलाडीहरुलाई क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे । अध्यक्ष क्षेत्रीले खेलाडीहरुलाई मैदानमा खेल्न थप हौसला मिलोस भन्ने उद्देश्यले आफूले थोरै भए पनि खेलाडीहरुलाई केही नगद र खेलकुद सामाग्रीले पुरस्कृत गरेको बताए ।

सो अवसरमा क्लबका व्यवस्थापक कबिर बस्नेत, मुख्य प्रशिक्षक किशोर केसी तथा सहायक प्रशिक्षकद्वय नरेश थापा, जगु खड्का लगायतको पनि उपस्थिति रहेको थियो ।

Post Comments