News एपिएफ र एनआरटीको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपिएफ क्लब र न्युरोडटिम (एनआरटी) ले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

पटक–पटकको अग्रता जोगाउन नसकेको एनआरटीले अन्ततः एपिएफसँग ३–३ को बराबरीमा रोकिन पुग्यो । दशरथ रंगशालामा भएको खेलको ३२औं मिनटमा दर्शन गुरुङको गोलबाट एनआरटीले खेलमा अग्रता लिएको थियो ।

तर, त्यसको पाँच मिनट लगतै आशिष लामाले एपिएफका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिए तापनि दोस्रो हाफ थप रोमाञ्चक बन्यो ।

४८औं मिनटमा दर्शन गुरुङले फेरि व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई खेलमा अग्रता दिलाए । मेसुकाले ६०औं मिनटमा एनआरटीको त्यो अग्रता ३–१ को स्थितिमा पुर्याए ।

तर, एपिएफले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । ६५औं मिनटमा दिपेश धिमालले एपिएफका लागि दोस्रो गरे भने लगतै ६९औं मिनटमा नबिन लामाले तेस्रो गोल थप्दै खेललाई ३–३ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा एनआरटीका दर्शन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । साथै यो बराबरी खेले वापत दुवै टोलीले २५–२५ हजार पनि हात पारे ।

यो नतिजापछि ६ खेलबाट ५ अंक जोडेको एपिएफ ११औं स्थानमा छ । उता एनआरटी भने ७ अंकका साथ छैठौं स्थानमा छ ।

Post Comments