News शहिद लखन हिमालय देवी कप हुने
सुरज राना मगर

घैरुङ । गोरखाको शहिद लखन गाउँपालिका घैरुङ–६ पिपलछापमा हरेक बर्ष जस्तै यस बर्ष पनि माघे संक्रान्तीको अवसर पारेर शहिद लखन हिमालय देवी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

श्री हिमालय देवी युवा क्लब, घैरुङ, पिपलछाप, गोरखाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक तिलक गुरुङले जानकारी दिए ।

घैरुङ–६ पिपलछाप स्थित स्थानीय खेलमैदानमा पौष २६ गतेदेखि हुने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नाईन ए साईडका रुपमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहने संयोजक गुरुङले बताए । साथै प्रतियोगितामा सहभागिता जनाउने इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क १२ हजार तोकिएको पनि उनले जानकारी दिए । प्रतियोगिताको समापन भने माघ १ गतेका दिन हुनेछ ।

स्थानीयस्तरमा माघे मेलाका रुपमा परिचित प्रतियोगितामा परम्परागत रुपमा गोरु जुधाई, हस्तकला प्रतियोगिता साथै अन्य साँस्कृतिक कार्यक्रमहरु पनि प्रतियोगिताका बेला मुख्य आकर्षण रहने संयोजक गुरुङले बताए ।

प्रतियोगिताले गाउँघरका स्थानीय खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गर्ने बताउँदै संयोजक गुरुङले प्रतियोगिता खेलकुदसँगै साँस्कृतिक र परम्परागत रुपमा पनि गोरखाको घैरुङवासीहरुका लागि एक विशेष चाडका रुपमा रहेको बताए ।

 

 

Post Comments