News मच्छिन्द्रको एएफसी कपको यात्रा पक्का
गोलनेपाल

काठमाडौं । गत सिजन लिग विजेता बनेर पनि एएफसी कपको छनौट प्रतियोगिता खेल्नबाट बञ्चित भएको मच्छिन्द्र फुटबल क्लबले यसपटक भने एएफसी कपमा आफ्नो स्थान लिग सकिनु अघि नै सुरक्षित गरेको छ ।

दशरथ रंगशालामा आइतबार भएको एक मात्र खेलमा मच्छिन्द्रले नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । मच्छिन्द्रका लागि यस सिजन राम्रो लयमा रहेका सुनिल बलले २१औं मिनटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यो जितपछि ७ खेलबाट १७ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा रह्यो । मच्छिन्द्रलाई लिगमा कडा चुनौति दिईरहेको मनाङ १६ अंकका साथ दोस्रो स्थानमा छ । उता आइतबार पराजित पुलिस भने ६ अंकका साथ ११औं स्थानमा झरेको छ ।

एएफसी कप छनौटको यात्रा पक्का

मच्छिन्द्रले आइतबार पुलिसलाई हराएसँगै प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । गत सिजन लिग च्याम्पियन बनेर पनि एएफसी क्लब लाइसेन्स नहुँदा मच्छिन्द्रले सहभागिता जनाउनबाट बञ्चित भएको थियो ।

त्यसपछि एएफसी कपको छनौट प्रतियोगितामा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो । यद्यपि यसपटक भने मच्छिन्द्रले पनि एएफसीको क्लब लाइसेन्स हात पारेकाले एएफसी कपको प्रारम्भिक छनौटमा मच्छिन्द्रले नै खेल्ने पक्का भएको छ ।

स्मरण रहोस, लिग शुरु हुनु अघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगमा सहभागि क्लबहरुबीच साँतौं चरणको खेलपश्चात लिगको शिर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनौट खेल्ने सहमति बनेको थियो । खासगरी त्यो निर्णय एएफसीले तोकेको नियम र टिमदर्ता मितिका कारण लिइएको थियो ।

एएफसी कपको प्रारम्भिक छनौटको खेलबारे मिति र स्थान लगायत अन्य विस्तृत विवरण एएफसीले छिटै घोषणा गर्ने बताइएको छ ।

Post Comments