News बुद्ध युथलाई २९औं त्रिवेणी कपको उपाधि
गोलनेपाल

बेसीशहर । मोफसलको पुरानो मध्ये एक प्रतिष्ठित २९औं त्रिवेणी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली बुद्ध युथ क्लब, लमजुङले हात पारेको छ ।

बुधबार सहजी रंगशालामा भएको फाइनल भिडन्तमा बुद्ध युथले श्री भगवती युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

फाइनल खेलको म्यान अफ द म्याच बुद्ध युथका सन्दिप राना मगर घोषित भए । विजेता बनेको बुद्ध युथले उपाधिसहित नगद ५ लाख हात पार्यो भने श्री भगवतीले ३ लाखमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पराजित श्री भगवती कै अमित लामा घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे । त्यस्तै सेमिफाइनलमा पराजित भएका दुई टोली आयोजक त्रिवेणी युवा क्लब र समाज कल्याण युवा क्लब, काठमाडौं ५०–५० हजार प्राप्त गरे ।

त्रिवेणी युवा क्लब, लमजुङको आयोजनामा भएको प्रतियोगितामा देशभरिबाट कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सभ्य र भव्यताका सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजक क्लबका अध्यक्ष बिनोद गुरुङले आभार र धन्यवाद पनि प्रकट गरे ।

Post Comments