News ल्होसार माघी कपमा मैत्रीको विजयी शुरुवात
सुरज राना मगर

सुनवल । बुधबारदेखि नवलपरासीको सुनवल नगरपालिकामा शुरु ल्होसार माघी कप नकआउट फुटबल प्रतियोगितामा मैत्री युवा क्लबले विजयी शुरुवात गरेको छ ।

सुनवल–१०, गैंडाखाल, नवलपरासी स्थित मनकामना रंगशालामा भएको उद्घाटन खेलमा मैत्रीले विपी स्मृति युवा क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा अग्रता भने बिपीले लिएको थियो ।

४५औं मिनटमा रोहित थारुको गोलबाट बिपीले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । मैत्रीका लागि ५९औं मिनटमा अनिष थापाले बराबरी गोल फर्काए । लगतै ६३औं मिनटमा नबिन चिढीले दोस्रो गोल गर्दै मैत्रीको जित पक्का गरे ।

यो जितसँगै मैत्री प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पौष २२ गते बिहीबारको खेल सनराईज भूमही र कुकुरमाराबीच हुने प्रतियोगिता संयोगजक जित पुनले जानकारी दिए ।

मनकामना युवा क्लब, सुनवल–१० नवलपरासीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख पप्त गर्नेछ । फाइनल खेल माघ ८ गतेका दिन हुने आयोजकले जनाएको छ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथीका रुपमा उपस्थित सुनवल नगरपालिकाका नगर प्रमुख भरत थापाले गरेका थिए ।

Post Comments