News युवाहरुले सञ्चालनमा ल्याए गौरादहमा फुटसल, मेयरले गरे उद्घाटन
गोलनेपाल
गौरादह नगरपालिकाझापाका प्रमुख रोहितकुमार साहले गौरादह फुटसलको उद्घाटन गरेका छन्।

गौरादह–२ मा दुईजना युवा ब्यवसायीले सञ्चालनमा ल्याएको फुटसल एकसाता अघि सञ्चालनमा आएपनि औपचारिक उद्घाटन भने हिजो (शनिबार) भएको हो।
 
फुटसलको उद्घाटन गर्दै नगर प्रमुख साहले सङ्गीत र मनोरञ्जन जस्तै खेलकुद पनि मानिसका लागि अनिवार्य आवश्यक भएको बताए। फुटसल अन्य सहरका लागि पुरानो भए पनि गौरादहका लागि नयाँ र स्थानीय आवश्यकता थियो,उनले भने। सहरीकरणले गर्दा खेल अभ्यास गर्ने स्थानको अभाव हुँदै गएको बेला युवा ब्यवसायी अर्जुन खड्का र सन्तोष बिष्टले गौरादह नगरबासीले खोजेको फुटसल स्थापना गरेर नगरको विकासमा सहयोग गरेको नगर प्रमुख साहको भनाई थियो।
 
खेलको माध्यमबाट शारिरिक अभ्यास हुनेमा जोड दिँदै साहले फुटसल खेलबाट स्थानीय ब्यापारी, ब्यावसायीहरूले लाभान्वित हुन सक्ने उल्लेख गरे। एउटा नगरलाई समृद्ध बनाउन सबै क्षेत्रको विकास हुनु आवश्यक भएको बताउँदै उनले फुटसलको स्थापना समृद्ध नगरको पूर्वाधार भएको उल्लेख गरे।
 
अर्का वक्ता जीवन राईले गौरादहको खेलकुद बिकासमा फुटसल स्थापनाले नयाँ आयाम थपेको बताए।
 
गौरादह फुटसलका सञ्चालक अर्जुन खड्काको सभापतित्वमा भएको उद्घाटन समारोहमा अर्का सञ्चालक सन्तोष बिष्टले स्वागत गरे।

झण्डै ७० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फुटसलमा सहभागि हुन प्रतिब्यक्ति न्युनतम ६५ रुपैयाँ र अधिकतम १ सय रुपैयाँ लाग्ने सञ्चालक खड्काले जानकारी गराए।

खड्काका अनुसार बिहान र बेलुकाको समयमा भन्दा दिवा समयमा फुटसल खेल्न सस्तो पर्नेगर्छ। फाइभ साइड क्षमता को फुटसलमा सामान्यतया एउटा प्रतियोगिता १ घण्टा खेलिने गर्छ।

तेजन खड्का
Post Comments