News चण्डेश्वरी र हरमटारी सेमिफाइनलमा
सुरज राना मगर

घैरुङ । चण्डेश्वरी युवा क्लब, रानागाउँ र साविक विजेता हरमटारी एफसी यहाँ जारी शहिद लखन हिमालयदेवी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लखन गाउँपालिका–६, पिपलछाप स्थित शहिद लखन खेलमैदानमा मंगलबार कुल पाँच खेलहरु सम्पन्न भएका थिए । सेमिफाइनल प्रवेश गर्ने क्रममा चण्डेश्वरीले प्रिक्वाटरफाइनलमा अन्नपुर्ण युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै क्वाटरफाइनलमा भने चण्डेश्वरीले आयोजक हिमालयदेवी युवा क्लबलाई टाईब्रेकर मै ४–२ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको त्यो खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

त्यस्तै साविक विजेता हरमटारीले दोस्रो क्वाटरफाइनलमा ओख्रेनी एफसी, काठमाडौंलाई २–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

मंगलबार नै अन्य दुई प्रिक्वाटरफाइनल खेलहरु पनि सम्पन्न भए । जसअन्तरगत जनजागृति युवा क्लबले मंगोलियन कल्चर ग्रुपलाई १–० ले हरायो भने अर्को प्रिक्वाटरफाइनलमा चण्डेश्वरी युवा क्लब, देउरालीले इन्द्रेणी युवा क्लबलाई टाईब्रकरमा ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

प्रतियोगिता अन्तरगत पौष २८ गते बुधबार बाँकी रहेका दुई क्वाटरफाइनल खेल र दुई सेमिफाइनल गरि कुल चार खेलहरु हुने प्रतियोगिता संयोजक तिलक गुरुङले जानकारी दिए ।

हिमालयदेवी युवा क्लब, शहिद लखन गाउँपालिका–६, पिपलछाप, घैरुङ गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने क्लब अध्यक्ष निर्मल गुरुङले जानकारी दिए । शहिद लखन गाउँपालिकाको मुख्य प्रायोजन र टेन्सबर्ग ब्रुअरी प्रा.लि. को प्रायोजन रहेको प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ ।

 

Post Comments