News शहिद लखन हिमालयदेवी कपः उपाधिका लागि हरमटारी र चण्डेश्वरी भिड्ने
सुरज राना मगर

घैरुङ । श्री चण्डेश्वरी युवा क्लब, देउराली र साविक विजेता हरमटारी एफसी यहाँ जारी शहिद लखन हिमालयदेवी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

लखन गाउँपालिका–६, पिपलछाप स्थित शहिद लखन खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा हरमटारीले जन जागृति युवा क्लबलाई शून्यका विरुद्ध ७ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो ।

फराकिलो जित निकाल्ने क्रममा हरमटारीका लागि सन्दिप राना मगरले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै सजिन थापा मगर, अर्जुन गुरुङ र सोमिन थापाले थप एक–एक गोलको योगदान दिए ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा श्री चण्डेश्वरी, देउरालीले चण्डेश्वरी युवा क्लब, रानागाउँलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गर्यो । विजयी टोलीका लागि हेमराज थापाले एक मात्र निर्णायक गोल गरे ।

फाइनल खेल पौष २९ गते बिहीबार बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगिता संयोजक तिलक गुरुङले जानकारी दिए । फाइनल लगतै साँस्कृतिक कार्यक्रम र वर्षेनी आयोजना हुँदै आएको गोरु जुधाई खेल पनि हुने भएकाले फाइनल खेल बिहान आयोजना गर्न गईरहेको संयोजक गुरुङले जानकारी दिए ।

हिमालयदेवी युवा क्लब, शहिद लखन गाउँपालिका–६, पिपलछाप, घैरुङ गोरखाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने क्लब अध्यक्ष निर्मल गुरुङले जानकारी दिए । शहिद लखन गाउँपालिकाको मुख्य प्रायोजन र टेन्सबर्ग ब्रुअरी प्रा.लि. को प्रायोजन रहेको प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ ।

 

Post Comments