News एपिएफको जित, स्तब्ध बन्यो मनाङ
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शुक्रबार भएको नवौं चरणको दोस्रो खेलमा दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लबले स्तब्धपुर्ण हार बेहोरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले नवप्रवेशी टोली सातदोबाटो युथ क्लबसँग २–१ को हार बेहोरेको हो । यो हारले मनाङको उपाधि होडमा पनि धक्का लागेकोे छ ।

खेलको ११औं मिनटमै मार्टिन सिलोको गोलबाट सातदोबोटाले खेलमा अग्रता लिएको थियो । ३८औं मिनटमा मार्टिन्स अजयीले दोस्रो गोल थपे । जुन गोल निर्णायक पनि बन्यो ।

उता पराजित मनाङका लागि दोस्रो हाफतर्फ ५७औं मिनटमा अफिज ओलावालेले एक गोल फर्काए तापनि टोलीलाई भने खेलमा फर्काउन सकेनन् ।

यो नतिजापछि ९ खेलबाट १२ अंक जोडेको सातदोबाटो लिगतालिकाको छैटौं स्थानमा उक्लेको छ । पराजित मनाङ भने १९ अंकका साथ दोस्रो स्थान मै यथावत छ ।

एपिएफको दोस्रो जित

त्यस्तै शुक्रबार नै भएको पहिलो खेलमा एपिएफले हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै लिगमा दोस्रो जित दर्ता गर्न सफल भयो । एपिएफका लागि ४४औं मिनटमा आवास लामिछानेले गरेको एक मात्र गोल विभागीय टोलीलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

यो जितपछि ९ खेलबाट १० अंक जोडेको एपिएफ लिगतालिकाको नवौं स्थानमा पुगेको छ । उता पराजित शेर्पा भने ११ अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।

Post Comments