News डिफेन्डिङ च्याम्पियन हरमटारीलाई उपाधि
सुरज राना मगर

घैरुङ । यहाँ सम्पन्न शहिद लखन हिमालयदेवी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता हरमटारी फुटबल कलबले जित्न सफल भएको छ ।

लखन गाउँपालिका–६, पिपलछाप स्थित शहिद लखन खेलमैदानमा बिहीबार सम्पन्न फाइनल भिडन्तमा हरमटारीले श्री चण्डेश्वरी युवा क्लब, देउरालीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

खेलको अन्तिमतिर पाएको पेनाल्टीको अवसरलाई सन्दिप राना मगरले कुनै गल्ती नगरी गोल गरेपछि, त्यहि पेनाल्टी गोल हरमटारीलाई उपाधि जिताउन निर्णायक बनेको थियो ।

उपाधि रक्षा गर्न सफल विजेता हरमटारीले उपाधिसहित नगद १ लाख २० हजार हात पार्यो भने उपविजेता श्री चण्डेश्वरीले ६० हजारमा चित्त बुझायो । त्यस्तै हरमटारीका सोमिङ थापा मगर प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

समापनका दिन गोरु जुधाई खेल, दौड प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । साथै प्रतियोगिता सम्पन्न गर्न आर्थिक र भौतिक रुपमा सहयोग पुर्यायउने सबैलाई सम्मान र पुरस्कृत पनि गरिएको थियो ।

सबैलाई प्रमुख अतिथी शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा, आयोजक श्री हिमालय देवी युवा क्लबका अध्यक्ष निर्मल गुरुङ, प्रतियोगिता संयोजक तिलक गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

हिमालयदेवी युवा क्लब, शहिद लखन गाउँपालिका–६, पिपलछाप, घैरुङ गोरखाको आयोजनामा पौष २६ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments