News आर्मीको उत्कृष्ट जित, थ्रीस्टारसँग हार्यो संकटा
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्रीस्टार क्लबले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा आर्मीले लिगको चौथो जित दर्ता गर्ने क्रममा संघर्षरत टोली फ्रेण्डस क्लबमाथि ३–१ को प्रभावशाली जित हात पार्यो ।

आर्मीका लागि खेलको दशौं मिनटमै जगजित श्रेष्ठले पहिलो गोल गरे । ४४औं मिनटमा दिनेश हेन्जनले आर्मीको त्यो अग्रता दोब्बर बनाए । यद्यपि फ्रेण्डसका लागि ४६औं मिनटमा जमूल एन्थोनीले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

उता ७१औं मिनटमा डिफेन्डर सुमन अर्यालले हडेमार्फत आर्मीका लागि तेस्रो गोल गरेपछि फ्रेण्डसको खेलमा फर्किने सम्भावना समाप्त भएको थियो ।

यो जितसँगै ९ खेलबाट १७ अंक जोडेको आर्मी लिगतालिकाको तेस्रो स्थानमा पुगेको छ । र एक खेल कम खेलेको मच्छिन्द्र भन्दा ३ अंकले मात्र पछाडी छ । उता पराजित फ्रेण्डस भने ३ अंकका साथ पुछारमा संघर्षरत छ ।

थ्रीस्टारसँग संकटा निराश

शनिबार नै भएको दोस्रो तथा हेभिवेट भिडन्तमा थ्रीस्टार क्लबले बाजी मार्न सफल भयो । थ्रीस्टारले राम्रो लयमा रहेको संकटा क्लबमाथि १–० को संघर्षपुर्ण जित निकाल्यो ।

खेलको अन्तिमतिर इन्जुरी समयमा बिजय भुजेलले गरेको एक मात्र गोल थ्रीस्टारलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । लिगमा थ्रीस्टारको यो चौथो जित समेत थियो ।

यो जितसँगै ९ खेलबाट १६ अंक जोडेको थ्रीस्टार लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित संकटा भने १४ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा छ ।

Post Comments